काठमाडौं । टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।
उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।
त्यस्तै, जुडो खेलाडी सोनिया भट्ट भने पहिलो खेलमै पराजित भएकी छिन् । आज भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।
१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी हुन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।
इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।