एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।
भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५० औं मिनेटमा गाब्रियलको गोलबाट भ्यालेन्सियाले अग्रता बनाएको थियो ।
खेलको ५७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसअघि मेस्सी पेनाल्टीमा गोल गर्न सकेनन् । तर, त्यहिँ पेनाल्टी बल भ्यालेन्सियाका डिफेन्डरले क्लियर गर्न नसक्दा मेस्सीले गोल गरेका थिए ।
यस जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।