काठमाडौं । हेल्प नेपाल क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज भएको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकाल्यो । भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो । यस जितसँगै हेल्प नेपालले लिगको अन्तिम खेलमा एपीएफसँग व्यहोरेको हारको बदला समेत लिएको छ । उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ ।
उपविजेता बनेको एपीएफले १ लाख ५० हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गरेको छ ।
महिलातर्फको फाइनलमा भने न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो ।