एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
युएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए ।
दिल्लीले सन्दीपलाई भने मौका दिएको थिएँन । सन्दीप लगातार छैटौं खेलमा प्लेइङ सेट बाहिर रहेका हुन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो । राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।