काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको अवधिमा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको समयमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् ।
केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना भैरहेको बताउनुभयो । महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।
गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।