ट्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । (गएराती) साढे ९ बजेतिर भूमे गाउँपालिका‐१ पाथिहाल्नेबाट डोजेरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा सिस्ने गाउँपालिका‐५ रुमाल बारामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टरका सह‐चालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको छ । चालक जीवन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको हो । घाइते बुढाथोकीको थप उपचारका लागि आज बिहान नेपालगञ्ज रिफर गरिएको छ ।