पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही, हरिवनमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टा तर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटना स्थलमै एकजनाको र उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । चालकसहित पाँचजनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगन्ज रिफर गरीएको छ । अरु तीनजनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौजनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रुबसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।