हुम्लाको नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो
मङ्सिर ११ गते नौ र हिजो ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिनुभएको छ ।
आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले जानकारी दिनुभयो ।
हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन् ।