काठमाडौं । आज विश्व योग दिवस मनाइँदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो ।
सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।
आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् । यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारणका समितिले आज दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
गएको जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउनका लागि जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र समितिका अरु सदस्यहरु प्रमुख जिल्ला अधिकारीले नै तोक्ने व्यवस्था गरेको छ । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।
यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गर्नुभएको हो ।
कोभिड–१९ महामारीका कारण आमरूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको तथा अवसाद र चिन्ता जस्ता मानसिक समस्यासमेत देखा परेका अवस्थामा शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको राष्ट्रपतिले बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस वर्ष ‘मानव सु–स्वास्थ्यका लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।