काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइनेछ ।आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको उहाँले बताउनुभयो ।
सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिने निर्णय बैठकले गरेको छ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । पछिल्लो पटक जारी गरिएको निषेधाज्ञा भोली मध्य रातिदेखि सकिदै छ ।