काठमाडौं । कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुखस्तरको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढेकाले संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द निर्णय गरेको हो ।
कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दुरी कायम गरी कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन दिइएको छ । त्यस्तै हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ ।