काठमाडौं । आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।
केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्न सकिने आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो