राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय बढिरहेको वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको स्मरण गराएको छ ।
गएको शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको आयोगले उल्लेख गरेको छ ।
वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।