भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । पराराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।
भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । सोही दिन श्रींगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण भएको उल्लेख गरेको छ ।
भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्नेछन् । भेटमा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय विदेश मन्त्रालयले यो भ्रमण परम्परादेखि उच्च तहमा हुँदै आएको भ्रमण आदान प्रदान र भारतको नेपालसँगको उच्च सम्बन्धको निरन्तरता भएको बताएको छ ।