काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको स्मृति दिवसको अवसरमा आज कम्युनिस्टहरुले विभिन्न कार्याक्रम गरि देशभर मनाउँदै छन् । नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् ।
उनले विश्व कम्युनिस्ट घोषणा पत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।
को हुन पुष्पलाल ?
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए। वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई 'माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्' भनेका थिए । दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो।
वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे । संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञा पत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सिपमूलकसमेत) तालीम दिन्थ्यो।
भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसँग गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गरे ।
२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।
मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिक थिए ।
पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्रु नेपालीमा अनुवाद गरे । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उनको विवाह साहना प्रधानसँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुगे ।
२०१६ सालमा उनले सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गरे । २०१७ साल पौष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए ।