काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।
एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी हाल नयाँ संगठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।
संगठनबारे सुझाव संकलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताउनुभयो । नयाँ सदस्य थप्ने क्रममा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।
केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत,र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उहाँले जानकारी दिनुभयो । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताउनुभयो ।
केन्द्रीय समितिमा क–कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । उहाँका अनुसार प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ । नेता शर्माले यो काम आज नै सकिने बताउनुभएको छ ।
सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।
कार्यदल सदस्य यादवले छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले त्यसै अनुसार सुझावहरु समेटिएको बताउनुभयो । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।