काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सरोकारवाला र विज्ञहरूसँग छलफलमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । भोली संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
पत्रमा छलफलको विषयवस्तु नखुलाइए पनि सभामुखले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे दलहरूको धारणा बुझ्न बैठक आह्वान गर्नुभएको जनाइएको छ । भोली दिउँसो २ बजेका लागि तय भएको बैठकका लागि हिजो नै संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र प्रधानमन्त्रीलाई पत्राचार गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ८ जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि सभामुख सापकोटाले पहिलोपटक दलका प्रतिनिधिहरूसँग छलफल गर्न लाग्नुभएको हो । अहिले प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा, नेमकिपा र राप्रपाको उपस्थिति छ । प्रतिनिधिसभा विघटनपछि सभामुखले विभिन्न पक्षसँगको छलफल र परामर्शलाई निरन्तरता दिइरहनुभएको छ ।