नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको हो। पेरिसडाडाँमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठक लैजाने छलफलको एजेण्डा तय हुने खुमलटार स्रोत जनाएको छ। केन्द्रीय कमिटी बैठक एक बजे सुरु हुँदैछ। सोमबार दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।
प्रतिनिधिसभा विगठनको मुद्दा सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेपछि नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा प्रतिनिधिसभा बैठकको रणनीति, पार्टीको आधिकारिकतालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन्।
पार्टी विभाजनपछि आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले आधिकारिकताको विषयमा निर्णय गरेको छैन। यसअघि पार्टी वैधानिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले २८७ जनाको नाम बुझाएको थियो। प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिका ४४१ सदस्यमध्ये आफ्नो पक्षमा बहुमत रहेको गर्दै आधिकारिकताका लागि निर्वाचन आयोगमा दबाब बढाइरहेको छ। संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो। केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ।
एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।