नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गर्नु भएको छ ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राख्नु भएको छ । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम खुमलटार पुग्नु भएको थियो ।
प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरे मात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताउनुभएको मियाले बताउनु भयो ।
नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आउनु भएको छ । उहाँले हिजो मात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गर्नु भएको थियो ।