काठमाडौं । नेकपा भित्रको आन्तरिक किचलो चलिरहेको अबस्थामा विवाद साम्य पार्नुको साटो प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गर्नुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले नेकपाभित्रको टकराव दुर्घटनाउन्मुख भएको बताउदैै नयाँ सहकार्यका लागि आग्रह गर्नुभएको हो ।
नेकपामा विवाद हुँदा पार्टीभित्रका प्रतिपक्षीमाथि दबाब बनाउन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने गर्नुभएको छ । पार्टीभित्रै राजीनामा मागिएका वेला गत १७ असारमा पनि प्रधानमन्त्री ओलीले देउवासँग गोप्य भेट गर्नुभएको थियो
यता ओली र अध्यक्ष पुष्पकमल दाहाल बीचको संवाद भने ठप्प बनेको छ । पार्टीभित्र देखिएको पछिल्लो संकट समाधानबारे दुई अध्यक्षको तहमा कुनै पनि प्रकारको सम्पर्क र संवाद नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । ओलीले यसबीचमै संसदीय दलमा बहुमत जुटाउनेदेखि देशभर शक्ति सुदृढ गर्ने रणनीति अख्तियार गर्नुभएको छ ।
नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहालले करिब एक दर्जन गम्भीर अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा पर्ने अवस्था छ । ओलीले सकेसम्म संसदीय दलमा बहुमत पु¥याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्नेसम्मको विकल्पमा परामर्श गर्दै आउनुभएको छ ।