काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनता र जनप्रतिनिधिको आवाज नसुनेको गुनासो गर्नु भएको छ ।
कोरोना महामारीका कारण तत्कालै सरकार विरुद्ध सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उहाँले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुले सरकारलाई खबरदारी गरिरहेको बताउनु भयो । आज बिहान आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटमा नेता सिंहले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
उहाँले लोकतन्त्रवादीहरुका लागि यो अशोभनीय भएको बताउनु भयो । कोरोना महामारीको विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको पनि आरोप लगाउनु भएको छ ।
सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उहाँले आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताउनु भयो । सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिएको उहाँको आरोप छ ।