काठमाडौं । नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् । साथै उनीहरुले आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल पनि गरिरहेका छन् । कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित वरिष्ठ नेता माधबकुमार नेपाल झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित रुपमा नै पार्टी वैठकको माग गर्नुभएको थियो ।
तर ओलीले पार्टी वैठक वस्न आवश्यक नरहेको वताउनुभएको थियो । नेकपाका नेताहरुले केही दिन भित्रै पार्टीको बैठक वस्नु पर्ने अन्यथा बहुमतको आधारमा निर्णय लिने जवाफ ओलीलाई दिएका थिए ।
सचिवालयका बहुमत सदस्यको लिखित प्रस्तावलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सीधै अस्वीकार गरेपछि नेकपा विवाद ४८ घन्टा अर्थात् दुई दिनसम्म ‘पर्ख र हेर’को चरणमा प्रवेश गरेको छ । त्यसपछि एकले अर्काको कदम हेरेर अगाडि बढ्ने तयारीमा देखिएका छन् । दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
तर, सम्भावित दुर्घटनाको अपजस लिन नपरोस् भन्नेमा दुवै पक्ष सचेत देखिएका छन् । योसँगै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको छ ।