नेकपाभित्र अन्तरविरोध चर्किए संगै दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच भेटवार्ता हुन छाडेको छ । झण्डै १२ दिन पछि गत शनिवार भेटगरेका दुई अध्यक्ष विच असमझदारी वढेपछि भेटवार्ता समेत हुन छाडेको हो ।
पछिल्लो भेटमा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टी अलग गरौं भन्ने प्रस्ताव अघि सार्नुभएको थियो । पार्टी बैठकका निर्णय नमानेको भन्दै इतरपक्षबाट असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेसंगै प्रचण्ड र नेपाल पक्षले ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका गर्दै आउनुभएको छ ।
प्रचण्डसँगको सम्वादमा ओलीले बैठक नराख्ने र पार्टी निर्णय पनि नमान्ने चेतावनी दिएपछि विवाद चर्कन पुगेको थियो । यही विवादका कारण पछिल्लो समय ओली र प्रचण्डबीच भेटवार्ता समेत हुन छाडेको छ । तर विभिन्न तहका नेताहरु पार्टी विभाजन रोक्न लागि परेपनि ओली र प्रचण्ड समूह टसको मस बनेका छैनन् ।
ओली प्रचण्डसँग कुरा गरेर विवाद मिलाउनुपर्ने पक्षमा हुनुहुन्छ भने प्रचण्ड एक्लाएक्लै वार्ता गर्दा समाधान ननिस्किएकाले सचिवालय बैठकमै विवादका विषयको छिनोफानो गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्छ । दुई अध्यक्ष विचको टकरावले पछिल्लो समय नेकपा विभाजनको संघारमा पुगेको छ ।
यसैबीच नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका वेला विवाद साधन गराउन राष्ट्रपति विद्यादेवी भण्डारी पुन सक्रिय हुनुभएको छ । उँहाले नेकपा वरिष्ठ नेता बामदेव गौतमलाई भेटगरी पार्टी भित्र देखिएको विवाद मिलाउनका लागि भूमिका खेल्न आग्रह गर्नुभएको हो ।
यस अघि पनि राष्ट्रपति भण्डारीले नेकपा भित्र विवाद हुदा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पदिय भूमिका विपरित राष्ट्रपति भण्डारी पार्टी भित्रको विवाद मिलाउन सक्रिय भएको भन्दै आलोचना समेत हुदै आएको छ ।