काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । पार्टी भित्रको विवाद समाधानकालागि वार्ता र छलफल प्रक्रिया अघि वढाउनुको सट्टा शिर्ष नेताहरु नै आन्तरिक रणनीतिमा जुटेका छन् ।
केही दिन अघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच भेटवार्ता भएपनि पछिल्लो समय फेरी भेटवार्ता रोकिएको छ । तर प्रधानमन्त्री निवास बालुवाटारमा र अर्का अध्यक्ष प्रचण्ड निवास खुमल्टारमा भने आ–आफ्नो पक्षको रणनीति तयार गर्न भने नियमित छलफल र भेटवार्ता भै रहेका छन् ।
दुई अध्यक्ष विचको सम्बन्धमा दरार देखिएसंगै दोस्रो तहका नेताहरुले सम्बादको पहल गरेपनि प्रभावकारी हुन सकेको छैन । तर प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका छन् । अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन् ।
एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै शिर्ष नेताहरु केन्द्रित भएको देखिन्छ । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आआफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना देखिएको छ ।