काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीपक्षबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने भएका छन् ।
सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएर बर्खास्त गर्न आग्रह गरेका थिए ।
जस अनुसार मुख्यमन्त्री शाहीले आज नै उनीहरुलाई बर्खास्त गरि मन्त्रीमण्डल हेरफेर गर्ने वताइएको छ । मन्त्रिमण्डल पुर्नगठन गर्दा शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार मन्त्री बनाउन थालेका हुन् । ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोगी भूमिका निर्वाह गरेका ओलीनिकट प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले यस अघि नै बर्खास्त गरेका थिए ।