सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग दुवै नेताले भेटवार्ता नगरेको बताउनुभएको छ ।
हिजो नेपाल आएका रअ प्रमुख गोयलले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई भेटेको समाचार सार्वजनिक भएपछि आज दुवै नेताका सचिवालयले यसको खण्डन गरेका हुन् ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले केही मिडियाले प्रचण्ड र नेपालसँग गोयलले गोप्य भेटवार्ता गरेको भनी प्रकाशित गरेको भ्रामक समाचारप्रति आफूहरुको ध्यानाकर्षकण भएको बताउनुभएको छ ।
उहाँले अध्यक्ष प्रचण्डले गोयलसँग भेटवार्ता नगरेका बताउनुभयो । उहाँले संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचार आएको भन्दै त्यसप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील समेत गर्नुभएको छ ।