विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डासहित जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक चलिरहेको छ । ५१ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठक राजधानीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा चलिरहेको नेता विश्वदीप पाण्डेले बताउनुभयो ।
गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो ।
पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । समायोजन र कार्यविभाजन अस्पष्ट देखिन्छ । त्यही एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यकारिणी बैठक बसेको हो । बैठक आज र भोलि दुई दिन चल्नेछ ।