सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाका सांसदहरूले पार्टीले आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेका छन् । संविधान र संसदीय दलको विधान र पार्टी विधान समेतले निर्दिष्ट गरेका अधिकारको प्रयोग गर्दा पार्टीले हस्तक्षेप गरेर संघीयताको मर्म र भावना कुठाराघात गरेको उनीहरूले आरोप लगाएका छन् ।
कर्णाली प्रदेश संसदीय दलका ३२ मध्ये १८ सांसदले गत आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसलाई प्रकृयाद्वारा छिनोफानो गर्ने प्रदेश पार्टी, त्यहाँको संसदीय दलको अधिकार, कार्याक्षेत्र हुँदाहुँदै पार्टी केन्द्रले मुख्यालय झिकाएको भन्दै उनीहरू आक्रोशित भएको छन् ।
यस्तै प्रदेश पार्टी कमिटीको जिम्मेवार तहमा रहेका नेताहरू नै अविश्वासको प्रस्ताव दर्ता गर्नेमा संलग्न रहेकाले उनीहरूले आफू रहेको कमिटीमा छलफल नगर्नु पनि त्रुटिपूर्ण रहेको केन्द्रीय सदस्य नीरज आचार्यले बताउनु भएको छ ।
कर्णाली प्रदेशको समस्या समाधान गर्न आचार्य नै केन्द्रबाट खटिनु भएको थियो । हिजो नेकपा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ लिने काम गरेको, आज पनि बाँकी रहेका साथीहरूसँग कुराकानी गर्ने र अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर टुङ्गो लगाउने तयारी रहेको आचार्यले जानकारी दिनु भयो ।