नेपाल कम्युनिस्ट पार्टीका नेताहरु कर्णाली प्रदेशमा उत्पन्न समस्याबारे आन्तरिक छलफलमा छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ ।
अहिले प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । आइतवार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै समस्याको निकास खोज्न दुई अध्यक्षबीच प्रयास भइरहेको छ ।
हिजोको भेटमा प्रचण्डले शाही विरुद्धको अविश्वासको प्रस्ताव रोक्न आग्रह गर्नुभएको थियो । प्रचण्डले हिजो नै वरिष्ठ नेता माधवकुमार नेपालसहित पूर्वमाओवादीका नेताहरुसँग पनि भेट गर्नुभएको थियो ।
अहिलेको समस्या बालुवाटारबाटै उत्पन्न भएकाले ओलीले नै समाधान गर्नुपर्ने खुमलटारको निष्कर्ष छ । ओली–प्रचण्डबीच प्रस्ताव फिर्ता गराउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।