सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । आज बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै सो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णालीमा प्रदेश सरकारमा जे भएको छ त्यो पार्टी एकता र स्थायी कमिटीका बैठकको भावना विपरित भएको भन्दै मुख्यमन्त्रीविरुद्ध भएको प्रस्ताव फिर्ता हुनुपर्ने धारणा राख्नुभयो । भेटमा प्रधानमन्त्री ओलीले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध जे प्रस्ताव आएको छ त्यो ठिक नभएको बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गर्नुभएका प्रचण्डले बिहान आफ्ना पक्षका वर्षमान पुन, जनार्दन शर्मा लगायतका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग परामर्श गर्नुभएको थियो ।
हिजो कर्णाली प्रदेशमा आफ्नै पार्टीका १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेपछि नेकपाभित्र नयाँ खालको विवाद देखिन थालेको छ ।