काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो ।
मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए । बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ ।
गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।