काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि जारी गरिएको निषेधाज्ञाको पाँचौं दिन । निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका अधिकांश स्थानमा प्रहरी तैनाथ गरिएको छ ।
उपत्यकामा ५ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५० भन्दा बढी स्थानमा होल्डिङ सेन्टर बनाइएका छन् । विभिन्न स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न प्रहरीका उच्च अधिकारीहरु नै फिल्डमा खटिएका छन् ।
सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको उहाँले बताउनुभयो ।
जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको एसएसपी सिंहको भनाई छ । प्रहरीले उपत्यकाभित्रको जाँचलाई प्रभावकारी बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमा समेत कडाइ गरेको छ ।