रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।
केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताउनुभएको थियो ।
यसैबीच कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो । दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ ।
खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको हो ।
उक्त कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।