म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर १८ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघीय मानवअधिकारकर्मीले जानकारी दिएका छन् ।
म्यानरमा सैन्य कूविरुद्ध भइरहेको प्रदर्शनको आइतबार सबैभन्दा बढी रक्तापातपूर्ण दिन भएको र सात जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । त्यसैगरि ३० जनाभन्दा बढी घाइते भएकोसमेत ती अधिकारीलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
फेब्रुअरी १ मा सेनाले कू गरेपछि त्यसविरुद्ध लगातार विरोध प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकारीहरुले निर्वाचित सरकार पुनर्स्थापना गर्नुपर्ने, प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका नियन्त्रणमा लिइएका नेताहरुलाई रिहा गर्नुपर्नेलगायतका माग राखेका छन् ।
नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेको सेनाले फेब्रुअरी १ मा कू गरेको हो । उक्त निर्वाचनमा सू ची नेतृत्वको पार्टीले भारी बहुमतका साथ जित हात पारेको थियो ।