काठमाण्डौ । संघीय राजधानी काठमाण्डौबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले मुख्य समाचारका रुपमा यी शीर्षकहरुमा समाचार प्रकाशन गरेका छन् । आजको कान्तिपुर दैनिकले प्रदूषण फेरि विकराल शीर्षकको समाचारमा लेखेको छ ।
गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ ।
काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ ।
सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्त्रणमा सिन्को भाँचेको देखिन्न । विभागमार्फत चालु आर्थिक वर्षमा पनि ‘स्वच्छ वातावरण महाअभियान’ चलिरहेको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार उक्त अभियानअन्तर्गत १० देखि १२ करोड बजेट छ । वायु प्रदूषणको क्षेत्रमा काम गर्न अलग्गै बजेट विनियोजन भएको छ । ‘महाअभियानको बजेटबाट हरियाली प्रवर्द्धनलगायत कार्यक्रम भइरहेका छन्,’ जोशीले कान्तिपुरसित भने, ‘वायु प्रदूषणको बजेटबाट प्रदूषण जाँच गर्ने उपकरण थप गर्ने र जोड्ने तथा जनचेतनामूलक कार्यक्रम भएका छन् ।’
यसैगरी आजको नयाँ पत्रिका दैनिकले त्रिशूलीमा २१ करोड ६८ लाखमा निर्माणाधीन पक्की पुल भत्कियो शीर्षकमा समाचार लेखेको छ ।
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान ४ बजेतिर एकाएक भत्किएको हो ।
कात्तिक ०७१ मा शिलान्यास गरिएको यो पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक ०७४ मा हस्तान्तरण गर्नुपर्ने थियो । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण देखाउँदै चारपटक निर्माण अवधि थप गरिएको थियो । अन्तिमपटक थपिएको म्याद पनि आगामी असार मसान्तमा सकिँदै थियो । पुल निर्माण कार्यमा ढिलाइ गरिएको भन्दै स्थानीयले दबाब समिति नै गठन गरेका थिए । स्थानीय देवेन्द्र पौडेलका अनुसार पछिल्लो समय भने पुलको काम केही तीव्र भएको थियो ।
सुरुमा १६ करोड ५३ लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का पाएको थियो । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पु¥याइएको थियो । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ ।
पुलमा ४०–४० मिटरका चारवटा स्पान छन् । देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेका थिए । बीचमा रहने स्पानमा ढलान गर्न बाँकी थियो । ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले बताए । उनका अनुसार पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार भएको छ, कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ ।
सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘पुल भत्केको जानकारी प्राप्त भएको छ, थप विषय विभागको अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।
यस्तै, आजको गोरखापत्र दैनिकले हवाई माध्यमबाट डढेलो नियन्त्रणका लागि गृहकार्य गर्न प्रमको निर्देशन शीर्षकमा समाचार लेखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको जंगलको आगलागी नियन्त्रणमा दमकल मात्र पर्याप्त नहुने भएको हेलिकप्टरको प्रयोग आवश्यक हुने चर्चा गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले विकट जंगलमा हुने आगलागी नियन्त्रण र अन्य प्रयोगमा पनि ल्याउन सकिने खालका बहुउपयोगी हेलिकप्टर वा हवाईजहाज ल्याउनुपर्ने बताउनुभयो । देशभरका जंगलमा लागेको आगलागी नियन्त्रणका लागि अग्नी नियन्त्रक यन्त्र जडान गरी तत्काल प्रयोगमा ल्याउन सकिने भए सो कार्य प्रारम्भ गर्न समेत उहाँले निर्देशन दिनुभयो । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि उहाँको थियो । उहाँले देशभरका सात सय स्थानमा आगलागी भएको र त्यसबाट हुने वायु प्रदूषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउनुभयो । उहाँले नेपाली सेनाले आफ्ना लागि चाहिने पोशाक, विस्कुट, खाद्य पदार्थ आँफै उत्पादन गर्ने कार्यको अग्रसरता लिनु सह्रानीय भएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली सेना आँफैले उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा समेत प्रयोगमा ल्याउन सकिने चर्चा गर्नुहुँदै भन्नुभयो, “त्यसरी तयार हुने पोशाक सितै होइन, परल मूल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइनुपर्छ ।”
कार्यक्रममा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै काम भइरहेको बताउनुभयो ।