अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले शैक्षिक सत्र यत्तिक्कै खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।
आज विभिन्न माग राख्दै इमेलमार्फत शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले जानकारी दिनुभयो । कोभिड १९ का कारण विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने लाखौं विद्यार्थीहरूको भविष्य अन्योल भइरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णयमार्फत वैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अवलम्बन गर्ने, स्थानीय तहको निगरानीमा अनलाइन माध्यम वा भौतिक दूरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको व्यवस्थित अभिलेखीकरण गर्ने, रेडियो र एफ.एम.मा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका,कम्प्युटर र मोबाइल भएका तर अनलाइन पहुँच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरी वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारीताका साथ व्वयस्थित गर्न माग गरिएको छ ।
विश्वविद्यालयको तहमा त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरूमा यस वर्षको शैक्षिक सत्र कायम हुनेगरी वैकल्पिक पढाइ र परीक्षा प्रणालीको तयारी शुरु गर्ने, पठनपाठनको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै समेस्टरहरूको परीक्षा गराउने लगायत माग पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।