काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री डा. विश्व पौडेलले विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताउनुभएको छ ।
११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्नेमा शङ्का रहेको पौडेलले बताउनुभयो ।
यस्तै, पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको बजेटले सिधासादा मतदातालाई ललीपप बाँढेको प्रतिक्रिया दिनु भएको छ । जसपाको सङ्घीय परिषद् अध्यक्षसमेत रहनु भएका भट्टराईले बजेट सार्वजनिक भएलगत्तै ट्वीटमार्फत प्रतिक्रिया दिँदै अहिलेको बजेटमा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको आरोप लगाउनुभएको छ ।
यस्तै, पूर्वअर्थमन्त्री रामशरण महतले कामचलाउ सरकारले आउने असारसम्मका लागि मात्रै बजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनु भएका महतले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको भन्दै बजेट तुरुन्त कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुभयो ।
यस्तै, पूर्व अर्थमन्त्री वर्षमान पुनले यो कार्यान्वयन नहुने चुनावमुखी बजेट भएको भन्दै आफूहरुको सरकार आएमा यो बजेट खारेज गर्ने बताउनुभयो । माओवादी केन्द्रका नेतासमेत रहनु भएका पुनले अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको र प्रतिनिधिसभा पुनर्स्थापना भए यो बजेट खारेज हुने दाबी गर्नुभयो ।