काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्यायाउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगमले जनाएको छ ।
मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम भइरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।
पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि टयाङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य हुने, भन्सार नाकामा हुने टयाङ्करको चापसमेत अन्त्य हुने तथा पेट्रोलको अभाव पनि अन्त्य हुने प्रादेशिक प्रमुख भरत रेग्मीले बताउनुभयो ।
भारतको मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने एनओसी अमलेखगञ्ज कार्यालयले जनाएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ ।