काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।
सोमबार अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखलगायत सरोकारवालासँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आइतबारसम्म २ खर्ब ४७ अर्ब राजस्व संकलन भएको छ । मन्त्री पौडेलले कोभिड-१९ ले सिर्जना गरेका चूनौतीको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने उल्लेख गर्नुभयो । उहाँले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारीलगायत कसैलाई पनि नछाड्ने उल्लेख गर्नुभयो ।
सरकारले डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने भन्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरिने आश्वासन समेत दिनुभएको छ । अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारी जानकार रहेको भन्दै समस्या आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्व समक्ष आउन आग्रह गर्नुभयो ।