काठमाडौं । सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको दरभन्दा क्विन्टलमै करिब ८ सय रुपैयाँसम्म सस्तोमा धान बेच्न किसान बाध्य भएका छन् । कञ्चनपुरमा भदौ अन्तिमसम्म २९ सय रुपैयाँ प्रतिक्विन्टल रहेको धानको मूल्य अहिले धान उत्पादन भएर कृषकले बिक्री गर्र्नेवेला १९ सयसम्म विक्रिी भइरहेको छ ।
ग्रामीण भेगमा अहिले मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गरिरहेका हुन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० सम्ममा किनिरहेका छन् ।
सरकारले यस वर्षको लागी मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका रोशन चौधरीले असोज दोस्रो साता धान थ्रेसिङ गरिसकेका थिए । चौधरीले गत वर्ष प्रतिक्विन्टल २२ सयमा धान बिक्री गर्नुभएको थियो ।
चौधरीले यो साल ३५ क्विन्टल धान प्रतिक्विन्टल २ हजार ५० का दरले मिलमा बिक्री गर्नुभएको छ । खेत जोताइ, मलबीउ खरिदका लागि पनि खर्च नहुँदा उहाँले चाँडै बेच्नुपरेको बतानुभयो ।
समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानको गुनासो छ । कलवारका अनुसार त्यस क्षेत्रमा मोटा धान २१ सयदेखि २२ सय र मध्यम २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री भइरहेको छ । गाउँकै गोला (गाउँकै काँटा) मा प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले १३ क्विन्टल धान बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।