काठमाडौं । साढे ३३ किलो सुन तस्करीको आरोपमा मुद्दा खेपि रहेका ६ आरोपितमाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ । आज एकैदिन दुई न्यायाधीशको इजलासमा उनीहरुको पेशी रहेको छ । ३८ क्विन्टल तथा साढे ३३ किलो सुन तस्करीको आरोपमा ६ आरोपितमाथि काठमाडौं र मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
काठमाडौ र मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका थिए ।
३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङको आदेशलाई चुनौती दिँदै दायर भएका चार थान मुद्दा न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी रहेको थियो ।
आरोपितहरु डिएसपी संजयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौलाको मुद्दा उक्त इजलासमा सुनुवाइ हुँदै छ । यसअघि पनि सोही इजलासले फाइल मगाउने आदेश गरेको थियो । एकै विषयमा दुई पटक मुद्दाको सुनुवाइ गर्ने परम्परा नभएपनि पछिल्ला समयमा केही विवादस्पद र आर्थिक चलखेल हुने मुद्दा हेर्न थालिएको छ ।
साढे ३३ किलो सुन तस्करी मुद्दामा आरोपितहरु श्यामकृष्ण श्रेष्ठ र गुप्तलाल भुसालको मुद्दामा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतको इजलासमा सुनुवाइ भइरहेको छ।
श्रेष्ठ विमानस्थलका कर्मचारी हुन् भने भुसाल व्यवसायी हुन्। त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साढे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जनाविरुद्ध २०७३ फागुन २२ गते मुद्दा दायर गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। पुस २१ गते विमानस्थलबाट साढे ३३ किलो अवैध सुन सिआइबीले नियन्त्रणमा लिएको थियो।