धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बालअधिकार सम्बन्धी नियमावली र बालसहभागिता सम्बन्धी कार्यविधि तयार गर्ने भएको छ ।
धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बालसहभागिता कार्यविधि सम्बन्धी अन्तरक्रिया तथा सराकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म बालबालिका सम्बन्धी नियमावली र बाल सहभागिता सम्बन्धी कार्यविधि बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि नै बालबालिका ऐन जारी गरिसकेको छ ।
उक्त कार्यक्रममै बोल्दै सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले आफू बालअधिकारका लागि बनेका बालक्लवको अनुभव सम्हालेर राजनीतिमा सक्रिय भइरहेको बताउदै बालअधिकारका क्षेत्रमा आवश्यक पर्ने नीति नियम बनाउन आफूले भूमिका खेल्ने बताइन् । उनले बालअधिकार बारे गाउँदेखि शहरसम्म पर्याप्त जानकारी नभएको आफूले पाएको बताइन् ।
राज्यमन्त्री साउदले भनिन्, ‘बालअधिकार बारे जानकारी दिन र बालबालिकाको भविश्य राम्रो बनाउन बालक्लवहरुले राम्रो भूमिका खेल्न सक्दछ ।’
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजीक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशमा आवश्यक बालबालिका सम्बन्धी नियमावली, कार्यविधि तथा केही नीतिहरु आवश्यक भएको र उक्त कार्यको लागि बाल अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुसँग समन्वय गर्ने विचार व्यक्त गरे ।
सो अवसरमा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले नियमावली, कार्यविधि लगायतका नीतिहरु निर्माणको लागि आफूहरुको सहयोग आवश्यक भए सक्दो सहयोग गर्ने बताए । उनले भने आउँदो बाल दिवसका भदौ २९ गतेसम्म नियमावली र बाल सहभागीता सम्वन्धी कार्यविधी आउन सके अझ ठूलो उपलव्धी हुने बताए ।
कन्सोर्टियम अध्यक्ष थापाले मन्त्री खड्का र राज्यमन्त्री साउदलाई बालअधिकारका सवालमा केन्द्रित रहेर ध्यानाकर्षण पत्र पनि बुझाएका थिए भने उक्त ध्यानाकर्षण पत्रमा बाल सहभागिता सम्बन्धी कार्यविधि याथासिघ्र जारी गर्न प्रदेश सराकारको ध्यानाकर्षण पनि गरिएको छ ।