काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
गएराति करिब २ बजे बा ३ ख ४०१४ नम्बरको बस र नम्बर नखुलेको भारतीय ट्रक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो। गम्भीर घाइते कुलुङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।