गत मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका वरिष्ठ नेता माधव नेपालप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीलाई भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरुलाई मन्त्री दिनुस् न, किन बिलम्ब गर्नुभएको हो ? हिरिक्–हिरिक् गरिरहेका छन् विचराहरु मन्त्री खानका लागि । यति त गराइसक्नुभयो । पछिपछि हिड्या छन्, कुद्या छन् । फ्याँ–फ्याँ र स्वाँ–स्वाँ गरेका छन् । मन्त्री खान पाउ भन्या छन् । विहान बेलुकी चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज । मेरो दलमा अलिकति घाटा भएपनि सहुँला–बुझुँला ।’
उनको यो अभिव्यक्तिले नेकपा एमालेभित्र चुलिएको विवाद मत्थर हुन सकिरहेको छैन भनी बुझ्न कठिन छैन । हुन त लामो समयदेखिको ओली–नेपालपक्षबीचको एकअर्काप्रतिको कटाक्ष मत्थर हुने संकेत अझैपनि देखिएको छैन । ओली–नेपाल पक्षका दोश्रो बरियताका नेताहरुले पार्टीभित्रको विवादलाई समाधान गर्ने भनेर पटक–पटक प्रयत्न गरेतापनि त्यसले सार्थक परिणाम ल्याउन भने सकिरहेको छैन । किनकी, ओली–नेपाल पक्षभित्र दोश्रो वरियताका नेताहरुको वैचारिक सुनुवाइ न त ओलीले, न त नेपालले नै कार्यान्वयन गर्ने मनसाय देखाउँदै आएका छन् । उनीहरु दुवैभित्रको एकअर्काप्रतिको कुण्ठा र राजनीतिक प्रतिशोध अझैपनि हावी भएको देखिन्छ । फलतः मिल्न–मिल्न खोज्ने तर जोडिन भने नसक्ने अवस्थामा ओली–नेपाल पुगेका छन् । अझै केही समय परिस्थिति अनुकूल हुने संकेत देखिएको छैन । जसका कारण एमाले दिनदिनै कमजोर मात्र बनेको छैन, उठ्नै नसक्ने गरी थिलथिलो हुने बाटोमा उन्मूख छ । पछिल्लो समयमा आफ्नो नेतृत्वमा रहेको लुम्बिनी प्रदेशबाट समेत राजनीतिक विरासत गुमाउनुपर्ने अवस्था सिर्जना हुनुमा पनि ओली–नेपालीबीचको हठले राम्रै काम गरेको देखिन्छ ।
संघमा दुईतिहाइ नजिकको बहुमतको सरकारको नेतृत्व गरेको नेकपा एमालेभित्रको विवाद चुलिँदै जाँदा सत्ताबाट बाहिनुपर्ने अवस्थामा पुग्यो । त्यसको पहिलो बाछिटा गण्डकी प्रदेशमा देखियो । आफ्नो नेतृत्वको सरकार एकाएक ढल्यो र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठन हुनपुग्यो । त्यसैको अर्काे श्रृंखला लुम्बिनी प्रदेशमा समेत सिर्जना भएको छ ।
ओली–नेपालबीचको सम्बन्ध
झापा आन्दोलनबाट उदाएका केपी ओली र माधव नेपालबीच झण्डै ४८ बर्ष लामो सम्बन्ध रहेको छ । २०४७ सालमा तत्कालिन नेकपा माले र माक्र्सवादी पार्टी एकिकरण भएर बनेको नेकपा एमालेका महासचिव मदन भण्डारीको जिप दुर्घटनामा निधन भएपछि ओली र नेपाल एउटै गाडी र जहाजमा समेत हिड्दैन थिए । उनीहरुमा पार्टीप्रतिको लगाव र माया यति धेरै थियो कि कहिलेकाहिँ सानोतिनो मनमुटाव भएपनि चाडै नै मिल्न पनि सक्दथे । तर केही समयदेखि भने उनीहरुबीचको सम्बन्ध यसरी बिग्रियो कि करिब–करिब नदीका दुई किनारा जस्तै भएको छ ओली–नेपालको सम्बन्ध ।
नेकपा हुँदा प्रचण्डको साथ र समर्थनमा ओलीमाथि गरिएको कारबाही र एमाले ब्यूँतिएपछि नेपाल माथि ओलीले चलाएका डण्डा र व्यवहारले उनीहरु अहिले राजनीतिक रुपमै पनि पानी बाराबारको अवस्थामा पुग्न लागे देखिन्छ । तीन बर्ष अगाडि २०७६ भदौ ५ गते ओली आफ्नो स्वास्थ्य उपचारको क्रममा सिंगापुर जाने क्रममा ओली र नेपालबीच भनाभन नै चलेको थियो । त्यसक्रममा ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप समेत लगाएका थिए । त्यतिखेर विदेश जानुपूर्व पार्टी अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकमा आफू सिंगापुर जाँदा आफ्नो अनुपस्थितिमा आफ्नो सहमतिमा पार्टीले निर्णय लिन सक्ने बताएका थिए । तर माधव नेपालले त्यसको प्रतिवाद गरेपछि ओली–नेपालबीच चर्काचर्की परेको थियो । त्यही क्रममा ओलीलाई नेपालले स्वास्थ्य लाभको कामना गर्दापनि ओलीले लिन अस्वीकार गरेका थिए । पार्टीभित्र ओली र नेपालबीचको मनमुटाब सोही बेलादेखि स्पष्ट रुपमा देखा परेको थियो ।
सानैमा आमा गुमाएका ओली बाल्यकालमा झापाका कम्युनिष्ट नेता रामनाथ दाहालको आश्रयमा हुर्किएका थिए । दाहालकै प्रेरणाबाट कम्युनिष्ट पार्टीमा लागेका ओली २०४४ सालमा १४ बर्षसम्म जेल जीवन बिताएका थिए । ओली र नेपालको राजनीतिक स्कूलिङ्ग पनि भिन्न छ । परिवारको संरक्षणमा हुर्किएका र राजनीतिमा आउनुपूर्व बैंकको जागिरे जीवन समेत बिताएका नेपाल राजनीतिमा चासो राख्ने व्यक्ति थिए ।
करिब १५ बर्ष पार्टीको महासचिवका रुपमा नेतृत्वमा रहेका नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्दै आयो । २०५६ सालको संसदीय चुनाव र सातौं महाधिवेशनका बेलामा पनि ओली–नेपालबीचमा अन्तरविरोध देखिएको थियो । त्यतिबेला पार्टीका महासचिव नेपाल भएका बेला दलको नेता ओली बन्न चाहेका थिए । तर त्यसो हुन नेपालले दिएनन् । त्यहीबेला देखि ओलीले पार्टीभित्र आफ्नो छुट्टै गुट बनाउँदै शक्तिमा ल्याउने प्रयास थालेका हुन् । २०७० को संसदीय दलको चुनावमा यी दुई नेताबीचको तिक्तता झनै बाहिर आयो । पार्टीको आठौं महाधिवेशनमा ओलीको काँध थापेका नेपालले दलको चुनावमा भने तत्कालिन अध्यक्ष झलनाथ खनाललाई साथ दिए । तर पनि उक्त चुनावमा ओलीले नै बाजी मारेका थिए । दलका अध्यक्षलाई पराजित गरेर संसदीय दलका नेताका रुपमा चुनिएर ओलीले पार्टीमा विगतको परम्परालाई मात्र तोडेनन्, पार्टीभित्रको शक्ति संरचनामा समेत फेरबदल ल्याउन सफल भए । यतिमात्र होइन, २०७१ सालमा एमालेको नवौं महाधिवेशनमा माधव नेपालाई करिब ४३ मतले पराजित नेपाल र ओलीबीचको सम्बन्धमा ठूलै तिक्तता आएको छ ।
प्रचण्ड–नेपालको गठबन्धन
२०७५ जेठ २ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकिकरण हुँदा नेपालको वरियताक्रम तल झरेको थियो । त्यतिखेर पार्टी एकिकरणबाट खासै सन्तुष्ट नभएका नेपाल र चीनमा रहेका झलनाथ खनालले समेत पार्टीमा आफ्ना वरियाक्रममाथि ओलीले सिधैं हस्तक्षेप गरेको महसुस गरेका थिए । उनीहरुले पार्टी एकिकरणको खुलेरै विरोध नगरेपनि पार्टीभित्र प्रचण्ड लगायतका नेताहरुको प्रवेशले आफ्नो स्पेस खुम्चिएको महसुस भने गरेका थिए । पार्टी एकिकरण भएपछि दुई अध्यक्ष रहने व्यवस्था गरिएअनुरुप ओली र प्रचण्ड हावी हुँदा नेपाल र खनालको भूमिका खुम्चिनु स्वभाविक नै थियो । जब पार्टी र सरकार सञ्चालनको जिम्मेवारीका बिषयमा ओली र प्रचण्डबीच मनमुटाव हुन थाल्यो, तब प्रचण्ड र नेपाल एउटा कित्तामा उभिन पुगे । यसबीचमा प्रचण्डको पार्टी नेतृत्वमा आफ्नो कब्जा जमाउने सपना र पार्टीमा कमजोर स्पेसलाई सामना गरिरहेका नेपालबीच तब झनै कसिलो सम्बन्ध बन्न पुग्यो, जब दोश्रोपटक मिग्रौला प्रत्यारोपण गरेर ओली पूर्ण रुपमा सशक्त भएर पार्टी र सरकारको नेतृत्वमा हावी हुन थाले । २०७७ फागुन २३ गतेको सर्वाेच्चको फैसलापछि नेकपा एमाले र माओवादी पूर्ववत अवस्थामा पुगेपछि प्रचण्डले नेपाललाई झनै आफ्नो समिप्यतामा ल्याएका देखिन्छ । प्रचण्डले आफ्नो पार्टीमै नभएपनि नेपाललाई आफ्नै सहयोद्धाको जसरी व्यवहार गरी नेकपा एमालेभित्रकै अर्काे गुटलाई बल दिन हौस्याएका देखिन्छ । जुन राजनीतिक रुपमा नेकपा एमालेलाई सोझै घाटा भएपनि प्रचण्डका लागि पनि फाइदा नै पुगेको देखिन्छ ।
आ–आफ्नै रटान
ओली र नेपालबीच लामो समयदेखिको तिक्ततापूर्ण अवस्थालाई सर्वाेच्च अदालतको फागुन २३ को फैसलाले झनै उचाइमा पु¥यादिएको छ । खासगरी ओली पक्ष नेपालका पछिल्लो गतिविधिबाट रुष्ट मात्र छैन । कुनैपनि हालतमा नेपाल पक्षको पार्टीमा हावी नहोस् भन्ने चाहना व्यक्त गर्न थालेका छन् । तर नेपाल पनि ओली पक्षको एकपक्षीय निर्णय अनि आफ्ना सहयोद्धालाई पेलेर जाने नीतिबाट चिडिएका छन् । उनीहरुको बटम लाइन भने पार्टी एकिकरण पूर्व २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो, त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने रहेको छ । त्यसका साथै फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने उनीहरुको स्पष्ट माग दाबी छ । त्यसको साथै ओलीले कुनैपनि हालतमा आफूहरुलाई एमालेमा रहन नदिन विभिन्न दाउपेच गरेको आरोप समेत नेपाल–खनाल पक्षले लगाएको छ ।
ओलीको आरोप
अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको उल्लेख गर्दै ओलीले त्यसअघि नै पार्टीमा समस्या उत्पन्न भइसकेको दाबी गरेका छन् ।
ओलीले प्रचण्डको अवसरवादी र अस्थिर भूमिकाको कारण त्यो एकता असफल भएको आरोप लगाएका छन् । ‘पछाडि फर्केर हेर्दा एउटा असल उद्देश्य र मनशायका साथ सुरु गरिएको पार्टी एकीकरण मूलतः सके कब्जा गर्ने नभए पार्टी विभाजन गर्ने प्रचण्डको अवसरवादी, विखण्डनकारी र अस्थिर भूमिकाका कारण असफल हुन पुगेको बताउँदै आएका छन् । ओलीले माधव नेपाल लगायतका नेताहरु पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गरेका छन् ।
उनको आरोप छ, ‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ ।’
ओली पक्षले पार्टी एकिकरणको ढोका खुलै राखेको भनेतापनि नेपाल–खनाल पक्षलाई सहजै पार्टीमा अवतरण गर्ने बाटो भने लगभग बन्द गरिदिएका छन् । यो अवस्थामा नेपाल–खनाल पक्षलाई नखाऊ भने ‘दिनभरिको शिकार, खाउ भने कान्छो बाउको अनुहार’ भन्ने नेपाली उखान जस्तै भएको छ ।
गिर्दाे साख
नेकपा एमालेभित्र ओली र नेपालबीचको मनमुटाव चुलिँदै गएको छ । तर यसले एमालेका कार्यकर्ता र शुभेच्छुकलाई चिन्तित मात्र बनाएको छैन, दुवैको राजनीतिक उचाई पनि घर्किंदै गएको छ । आन्तरिक गुटबन्दीमा ओली र नेपालबीचको रस्साकसीले पार्टीलाई कसिलो र मजबूद होइन, बरु शिथिल र थिलथिलो बनाउँदै लगेको छ । जहाँ एमाले इतरका राजनीतिक शक्तिहरुले नराम्ररीले कत्थक नृत्य गर्ने अवसर प्राप्त गरिरहेका छन् । यसबाट ओली र नेपालको राजनीतिक साख चुलिँएको छैन, बरु दिनदिनै घट्दो क्रममा छ ।

- थापा क्यापिटल दैनिकका प्रधान सम्पादक हुन् ।