काठमाडौं । वि.सं.२०७२ बैशाख १२ गतेको महाभुकम्पले ध्वस्त बनाएको धरहरा पुननिर्माणको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली इटा र कर्नीसहित सुन्धारा पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले यसअघिको आफ्नो कार्यकालमा “मेरो धरहरा म आफै बनाउछु” भन्ने अभियान सुरु गर्नुभएको थियो ।
यो अभियान सुरु भएको झण्डै चार बर्षपछि बिहिबार इटा र कर्नी हातमा लिएर प्रधानमन्त्री ओलीले धरहरा पुननिर्माणको शिलान्यास गर्नुभएको छ । भिमसेन थापाको पालामा बनेको धरहरा भुकम्पले भत्किएपछि टक्सार बिभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा बन्न लागेको हो ।
धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने भएपनि भित्री संरचना भने २२ तलाको हुने पुननिर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताउनुभयो ।
धरहरामा लिफ्टबाट ‘टप’मा पुग्ने र ओर्लिने दुईतर्फी व्यवस्था हुने पनि उहाँको भनाई छ । शिलान्यास कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको उपस्थिती थियो ।
यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको पनि उपस्थिती रहेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ अर्ब ४५ करोडमा धरहरा पुननिर्माणको जिम्मा जीआईईटिसी–रमन जेभीलाई दिएको छ ।