काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट परीक्षा’को प्रश्नपत्र ‘लिक’ भएको छानबिन समितिले पुष्टि गरेसँगै यसअघि लिइएको परीक्षा रद्द गरिएको छ।
प्रहरी प्रधान कार्यालयको युएन शाखाले साउन १५ र १६ गते चार सिफ्टमा आन्तरिक रुपमा प्रि–स्याटको परीक्षा लिएको थियो। उक्त परीक्षा अगावै सबै सिफ्टको प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण परीक्षा रद्द गरिएको जानकारी गराएको हो। प्रवक्ता एसएसपी वसन्त कुँवरले भने, ‘यसअघि लिइएको प्रि–स्याटको परीक्षा रद्द गरिएको छ। अर्को परीक्षाको मिति चाँडै तोक्ने तयारीमा छौं।’
प्रश्नपत्र चोरी भएको आशंका पछि डीआईजी वसन्तकुमार लामाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले प्रहरी महानरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउँदै पुनः परीक्षा गर्नुपर्ने राय दिएको थियो।
छानबिनका क्रममा युएन शाखाका परिचर सुरेश बमले प्रि–स्याटको प्रश्नपत्र परीक्षा अगावै चोरी गरेको पाइएको थियो। उनले साइबर ब्यूरोमा कार्यरत रहेका हवल्दार कुमार शाहको योजनामा प्रश्नपत्र चोरी गरेको बयान दिएका थिए।
चोरीमा प्रत्यक्ष संलग्न भएको आरोपमा बम र शाहसँगै सई जनक थापालाई समेत सेवाबाट बर्खास्त गर्नुपर्ने सुझाव लामा नेतृत्वको समितिले दिएको छ।
भाइबर, म्यासेन्जर, ह्वाट्एप लगायत गरी विभिन्न सामाजिक सञ्जाल र भेटेर दिइएको गरी १९९ जनासँग प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको थियो।
जस क्रममा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत मात्रै गराइएको छ। ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको छ।
युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका एसपी बेद विष्ट, इन्सपेक्टर इश्वरी भण्डारीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष समितिको छ।
त्यसैगरी, डीएसपी रुपेश खड्का, डीएसपी सुगन्ध श्रेष्ठ, इन्सपेक्टर दिलिप क्षेत्री, सई केदार तिमल्सिना, सई सुनिल भण्डारी, सई केशव कार्की, असई अशोक कार्की, जवान सुनिता नेपालीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।