काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले स्वदेशमा डाक्टर पढ्न नपाएका विद्यार्थीहरुलाई विदेश जान बाध्य बनाएको भन्दै स्वास्थ्य राज्यमन्त्रीलाई स्वास्थ्य माफियासँग मिल्नुभएको त छैन भनी प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बस्नेतले नेपालमा ११ हजार विद्यार्थी एमविविएस पढ्न चाहँदा पनि जम्मा १८२५ जना मात्र पढ्न पाउने व्यवस्था गर्नु आफैमा विडम्बना होइन र ? भनी प्रश्न गरे ।
उनले भने, ‘नेपालमा ११ हजार विद्यार्थी एमविविएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ, बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य छन् । यसबाट ९० अर्ब विदेश जाँदैछ । यो बारेमा विगतमा दिएका सम्बन्धन रद्ध गर्ने भन्दै हुनुहुन्छ । तपाई स्वास्थ्य माफियासँग मिल्नु भाको त होइन ? यसमा तपाईको योजना के छ ?’
सांसद बस्नेतले स्वास्थ्य मापदण्ड पूरा नगरी विद्यार्थीहरुको परीक्षा किन लिइँदैछ भनी प्रश्न गर्दै भने,‘विद्यार्थीहरुको परीक्षा स्वास्थ्य मापदण्ड पूरा नगरी किन लिईदैछ ? वैकल्पिक उपायहरु अबलम्बन गर्न किन सकिएन ?’
सांसद बस्नेतले अहिले खोप लगाउने र खोप प्रमाणपत्र लिन जनताले सास्ती भोग्नुपरेको बताउँदै यसलाई सहजीकरण गर्न सरकारसँग कस्तो योजना छ भनी प्रश्न गरे ।
बस्नेतले पछिल्लो समयमा मेयर, कांग्रेस उप सभापतिको घर तथा होटेलमा खोप भेटिनुले सरकारको नियतमाथि शंका गर्ने ठाउँ भएको बताए ।
उनले भने, ‘धनकुटा नेपाली कांगे्रसको लेटर प्याडमा तपाईँ मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तपाईमाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’
बस्नेतले भक्तपुरका क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्र लगायतका लागि ४ अर्ब बजेट छुट्टिएको बताउँदै भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रक्रिया अगाडि बढाउन समेत माग गरेका छन् ।