काठमाडौं । नेपालमा हालसम्म ४५ लाखभन्दा बढीले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । नेपालमा लगाइरहेको तीन किसिमका खोप कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, २८ लाख ८८ हजार ३६० जनाले खोपको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएका छन् । गत २४ घण्टामा देशभर १ लाख ९५ हजार २११ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्ण खोप पाएको र १३ दशमलब २८ प्रतिशतले पहिलो मात्रा पाएको मन्त्रालयले जनाएको छ ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलब २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका छन् ।
गत २४ घण्टामा कोभिसिल्ड खोपको दोस्रो मात्रा ६९ हजार ३७, भेरोसेल खोपको पहिलो मात्रा २८ हजार ८७१ जना, ६९ हजार १११ जनाले दोस्रो मात्रा, र जोन्सन एण्ड जोन्सन खोप २८ हजार १९२ जनाले लगाएका छन् ।
योसँगै कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउनेको कुल संख्या ५ लाख ९७ हजार ८१९ जना पुगेको मन्त्रालयले जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेका संख्या क्रमशः २७ लाख २ हजार १२८ र १० लाख ८३ हजार ४०३ पुगेको छ । हालसम्म १२ लाख ७ हजार १३८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।