काठमाडौं । सरकारले ल्याउन लागेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ तथा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’को विरोध गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्पूर्ण कर्मचारी ट्रेड युनियनहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा तालाबन्दी गरेर आज पनि विरोध जनाएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले आज विहान कार्यालय खुल्ने बित्तिकै पोखरेललाई कार्यकक्षबाट बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरेर नाराजवादी समेत गरेका छन् ।
उनीहरुले ‘कर्मचारी एकता जिन्दावाद’ ‘प्राधिकरण बेच्न पाइँदैन’, ‘मतियारहरु मुर्दावाद’, ‘प्राधिकरण हाम्रो आमा हो’, ‘प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।
राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पेश भएका उक्त विधेयकहरु सदनबाट पास भएमा भर्खरै सवल हुँदै गरेको प्राधिकरण टुक्रिएर बेथिति बढ्ने भन्दै कर्मचारीहरुले सोमबारदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।
विरोध कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव मीन खनालले देशभरिका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दै आएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चुङ्गुलमा पार्ने खेलसहित आएको उक्त विधेयक कुनैपनि हालतमा पास हुन नदिने बताए ।
उनले भने,‘तत्कालिन हवाई विभागलाई स्वायत्त संस्थाको रुपमा रुपान्तरण गरी स्थापना भएको नेपाल नागरिक प्राधिकरणलाई नै थप सशक्त बनाई प्रभावकारी रुपमा नियमन कार्य र आम जनतालाई सुलभ दरमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्भव हुँदा पनि त्यसलाई बेवास्ता गरी हवाइ माफियालाई पोस्न विधेयक ल्याइएको छ । जसको विरुद्धमा हामी उत्रिएका छौं ।
यसैक्रममा आन्दोलनरत कर्मचारीलाई सम्बोधन गर्दै कर्मचारी ट्रेड युनियनका पूर्व अध्यक्ष गोविन्द सुवेदीले हवाई सभ्यताकै नष्ट गर्ने गरी यूरोपियन युनियन विश्वका गरिब मुलुकका हवाइ आकाशहरु कब्जा गर्ने नियतले लागि परेको बताए ।
उनले भने, ‘जसरी जालहारीले जाल हालेर खोलाका सबै माछाहरुलाई एक ठाउँमा ल्याउछ, यूरोपियन युनियनले विश्वभरिका गरिब मुलुकका आकाशहरुलाई आफ्नो कब्जामा लिन खोज्यो, त्यसभित्र सल्बलाएका नवधनाढ्यहरु, घाँसे मैदानबाट उठेर आएका चप्पलेहरु, देशका प्रमुख पदहरुमा पुगेर हवाई सेवा नै कब्जा गर्ने काममा लागे जुन कदापि हुनु हुँदैन ।’