काठमाडौं । विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोप दिइने भएको हो ।
मन्त्रालयका अनुसार विद्यार्थीहरूलाई अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिइने छ । स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न सकिने छ ।